FAQs Complain Problems

नगर प्रमुखज्यूको मन्तव्य प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यू,

विषेश अतिथि माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टज्यू,

पूर्व उद्योग मन्त्री एवं माननीय प्रतिनिधि सभाका सांसद महेश बस्नेतज्यू

प्रदेश सभाका सबै माननीय सांसदज्यूहरु

नेपाल कम्यूनिष्ट पाटीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा सचिव, नेपाली काँग्रेसका जिल्ला सभापति तथा अन्य राजनैतिक दलका प्रतिनिधिज्यूहरु

जिल्ला समन्वय समिति र नगरपालिकाका प्रमुख तथा उप प्रमुखज्यूहरु,

प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु एवं सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरु

विभिन्न संचार माध्यमका संचारकर्मी मित्रहरु तथा सम्पूर्ण उपस्थित मानुभावहरु

 

नेपालको संविधान बमोजिम ७५३ स्थानीय तहहरु सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूको वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न दृढताका साथ अगाडि बढेका छौं । साथै, नेपाल सरकार र प्रदेश सरकार समेत समृद्ध अर्थतन्त्र निर्माणका लागि प्रतिवद्ध छ ।

 

नेपालमा प्रत्येक वर्ष पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् । विगतमा श्रम र श्रम बजार बीच तालमेल मिलेन । लाखौ युवा जनशक्ति विदेश गए । नेपालमा सामुदायिक सार्वजनिक निर्माणका लागि सीप र श्रम गर्ने श्रम शक्ति अभाव देखियो । यसर्थ, वर्तमान सरकारले श्रम गरौ रोजगार बनौ भन्ने मूल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर एकै पटक लागू गरेको छ । भव्य शुभारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूबाट अहिले हुँदैछ, यस महान अवसरका लागि स्थानीय तहहरुको तर्फबाट नेपाल सरकार प्रति हार्दिक आभार र खुशी व्यक्त गर्दछु ।

 

सामुदायिक आयोजनाहरुको छनौट, निर्माण र ब्यवस्थापनको मूल थलो नै स्थानीय तहहरु हुन् । यस्ता ससाना पूर्वाधारको दिगोपनाका लागि इच्छा शक्ति भएको स्थानीय जनशक्ति हामीलाई आवश्यक छ । वास्तवमा कामको सिर्जना कामबाटै हुन्छ । उत्साहजनक श्रम र सकारात्मक सोँचबाट समृद्ध नेपाल निर्माण हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको यस राष्ट्रिय अभियानबाट सबैका लागि रोजगार, राष्ट्रिय समृद्धिको आधार बन्नेमा हामी स्थानीय सरकार प्रमुखहरु विश्वस्त छौं । यस महान अभियानबाट अब १८ वर्ष देखि ५९ वर्षसम्मका नागरिकहरुले  एक आर्थिक वर्षमा न्यूनतम १०० दिन वरावर रोजगारीमा संलग्न हुन पाउनु हुनेछ ।

 

दक्ष, कुशल, सीपयुक्त, जागरिलो जनशक्ति देश विकासको आधार हो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सबै स्थानीय तहहरुमा रोजगार सूचना केन्द्र स्थापना भईरहेको छ । यसबाट देशमा आवश्यक विभिन्न तहको जनशक्तिको माग बैज्ञानिक तरिकाले पुरा हुनेछ । श्रमको सम्मान गर्ने वातावरण बन्नेछ । देश भित्र उत्पादनशील र मर्यादित रोजगारीको लागि छनौटको अवसर सिर्जना हुनेछ । युवा शक्ति रोजगारीका लागि विदेश जानु पर्ने अवस्था क्रमशः अन्त्य हुँदै जानेछ । श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मूल नारा सार्थक वन्दै जानेछ । काम सानो वा ठूलो हँुदैन, श्रम गर्ने व्यक्ति सदैव समाज र राष्ट्र गहना हो भन्ने सत्य स्थापित हुनेछ ।

 

उत्पादक श्रम र रोजगारीबाट मात्र उत्पादनमा बृद्धि, दिगो सामाजिक सुरक्षा र आत्मसम्मानको विकास हुन्छ । नेपाल सरकारको आफ्नो गाँउ, आफै बनाऔंको भावना अनुरुप विकास निर्माण र रोजगारी सिर्जनामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षको कार्यक्रम सुरुवात भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएको छ । स्थानीय तहहरुले समेत २०७६ साल असार १० गते भित्र आफ्नो आफ्नो बजेट पेश गर्ने तयारीमा जुटेका छन् । मलाई विश्वास छ, सबै स्थानीय तहले समुदायमा आधारित श्रममूलक आयोजनाहरुका लागि समेत थप बजेट विनियोजन गर्ने छन् । यसबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार व्यक्तिहरुको लागि रोजगारी सृजना गरी कार्यक्रमलाई सफल बनाउदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्न थप टेवा मिल्नेछ ।

 

अन्त्यमा, आजको यस भव्य सुभारम्भ कार्यक्रममा उपस्थित प्रमुख अतिथि सम्मानीय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यू, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गोकर्ण विष्टज्यू लगायत सम्पूर्ण मानुभावहरुमा हार्दिक आभार ब्यक्त गर्दै ऐतिहासिक राष्ट्रिय अभियानको प्रधानमन्त्री रोजगार कार्यक्रम सफल बनाउने प्रतिवद्धता समेत ब्यक्त
गर्दछु ।

 

धन्यवाद ।

वासुदेव थापा
नगर प्रमुख
तथा
प्रधानमन्त्री रोजगार कार्यक्रम भव्य शुभारम्भ कार्यक्रम संयोजक