FAQs Complain Problems

समाचार

प्रेस विज्ञप्ति

मिति २०८३/०५/१४
प्रेस विज्ञप्ति

मिति २०८३/०५/१० गते बुधबारका दिन रसुवास्थित भोटेकोशी नदीमा अकल्पनीय रुपमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति सूर्यविनायक नगरपालिका गहिरो दुःख व्यक्त गर्दछ। विपद्‌को यस त्रासदीपूर्ण एवम् पीडादायी घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति नगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।

मिति २०८३/०५/१४ गते आइतबार बिहान बसेको नगर कार्यपालिकाको २१५औं आकस्मिक बैठकबाट विपद् मा परी बेपत्ता हुनुभएका व्यक्तिहरूको खोजी, उद्धार तथा घाइते एवम् प्रभावित हुनुभएका सम्पूर्ण नागरिकहरूको सुरक्षित पुनर्स्थापना र सहज जीवनयापनका लागि आवश्यक सहयोग पुऱ्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निम्नानुसारको निर्णय गरिएको छ।
१. नगरपालिका विपद् व्यवस्थापन कोषबाटः रु. ५५,५५,५५५/- (अक्षरेपी पचपन्न लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ मात्र)।
२. जनप्रतिनिधिहरूको साउन महिनाको सेवा सुविधाबाट कट्टा हुने गरीः
-नगर प्रमुखको तर्फबाटः रु. ३५,०००/- (एक महिनाको सेवा सुविधा बापत प्राप्त हुने रकम बराबर)
-नगर उप-प्रमुखको तर्फबाटः रु. १५,०००/-
-वडा अध्यक्षहरूको तर्फबाटः प्रतिव्यक्ति रु. १०,०००/-
-कार्यपालिका सदस्यहरूको तर्फबाटः प्रतिव्यक्ति रु. ६,०००/-
-वडा सदस्यहरूको तर्फबाटः प्रतिव्यक्ति रु. २,५००/-

साथै, यस महाविपत्तिको कठिन घडीमा पीडित नागरिकहरूको खोजी, उद्धार, स्वास्थ्य उपचार तथा राहत लगायतका आवश्यक कार्यहरूमा नगरपालिका सदैव सक्रिय र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै यस राष्ट्रिय विपद् मा मानवीय दायित्व वहन गर्दै आ-आफ्नो क्षेत्रबाट सम्भव भएसम्मको सहयोग पुऱ्याउन सम्पूर्ण नागरिक समाज, निजी क्षेत्र, संघ-संस्था तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं।